गुड मर्निङ युएनपार्क
बिहानको झिसमिसे । बागमति नदीसँगै जोडिएको ललितपुरको युएनपार्क । सुनसान वातावरण । तर मानिसको बाक्लो उपस्थिति । कुनै मेला वा जात्रा लागेको छैन । चारै दिशाबाट आउने मानिसहरु धमाधम युएन पार्क छिरिरहेका छन् । मुटु कमाउने चिसोको कुनै परवाह छैन । कोही कुदिरहेका छन् त कोही लम्किरहेका । कसैलाई केही बितेको छैन । तर सबै हतारमा जस्तो देखिन्छन् । किनकी ज्यानको जाँगर निकाल्नु छ सबैलाई । अनि गर्छन् स्वास्वा स्यास्या । मान्छे धेरै छन्, हल्ला पटक्कै हुँदैन । किनकी त्यहाँ छलफल वा भाषण चल्दैन । मुख खेलाउने फुर्सद कसैलाई छैन । अनुहार धेरै परिचित नै हुन्छन् । आमनेसामने हुँदा मित्रताको भावसँगै हेलोसम्म चल्छ ।
हरेक बिहान युएन पार्कमा मर्निङ वाकको गजब माहोल देख्न पाइन्छ । किशोरकिशोरीदेखि तन्नेरी, युवा र उमेर ढल्केका बुढाबुढीसमेत टिपिक्कको ट्रयाकसुट अनि स्पोर्टस सुमा बडो फूर्तिका साथ लम्किरहेका हुन्छन् । सबैको आफ्नै सुर अनि ताल । वाकसँगै कोही एयरफोनबाट समाचार सुनेर अपडेट भइरहेका हुन्छन् त कोही म्यूजिकमै झुमिरहेका देखिन्छन् ।
केही राउण्ड दौडेपछि अधिकांश चौरतिर छरिन्छन् अनि थाल्छन् अनेक अभ्यास । ज्यान तन्काउने, मर्काउने वा हल्लाउने सबैको आफ्नै शैली र शान छ । नियम खासै छैन । कोही कपाल भाति वा रामदेव अभ्यासमा मस्त हुन्छन् । कोही एकहोरो हाँसिरहेका हुन्छन् । कोही उफ्रिरहेका हुन्छन् । कोही उल्टो दौडिरहेका हुन्छन् । कोही ब्याडमिन्टनमा पसिना काँढिरहेका हुन्छन् । कोही भेडाको जस्तो आवाज निकाल्दै घाँटी सफा गरिरहेका हुन्छन् । सबैले लगभग आआफ्नै आसन बनाएका हुन्छन् । त्यहाँ हानथाप चल्दैन । समझदारीमै हुन्छ सबै कुरा ।
सहरको घनावस्ती । मानिसको घुँइचो र गाडीको उकुसमुकुस । मेशिनजस्तै व्यस्त जीवनशैली । अव्यवस्थित खानपान । धुलो, हिलो, धुँवा र ध्वनिको प्रदुषण । दिनभरीका यस्ता अनेक हैरानी र तनावबाट सहरबासी थकित अनि दिक्क हुन्छन् । त्यसैले त उनीहरु बिहानपखको मिठो निद्रालाई पनि तिलाञ्जली दिदै झिसमिसै बिउँझिन्छन् । अनि एकछिन दौडेर फे्रस हावा खान्छन्, केहीबेर जीउ तन्काएर दिनभरका लागि फूर्ति संचय गर्छन । साच्चिकै सहरबासी आजभोली ज्यानको स्वास्थ्यप्रति निकै सचेत देखिएका छन् । मध्यरातसम्म पिएर झुम्नेहरु पनि आँखा मिच्दै बिहानै दौडिरेहका हुन्छन् ।
बागमति सभ्यताको एकीकृत विकासका लागि अधिकारसम्पन्न समितिका अध्यक्ष महेशबहादुर बस्नेत पनि बिहानमा प्रायः युएन पार्क पुग्ने गर्छन । दुई तीन राउण्ड लगाएपछि चौतारोमा बसेर उनले केहीबेर योगा पनि गर्छन् । प्रायः म यहाँ आउछु । यहाँ आएपछि दिनभर फ्रेस भइन्छ, बस्नेत भन्छन् । पार्क अझै व्यवस्थित गर्नेतर्फ प्रयास भइरहेको उनी बताउँछन् ।
साच्चिकै बिहानी सक्रियताले शारिरीक फूर्ति मात्र होइन, मानसिक आनन्द पनि हुन्छ । ज्यान बनाउने अनेक उपाय छन् । यसका लागि सहरमा थुप्रै क्लब वा एरोविक्स सेन्टर खुलेका छन् । जहाँ साउनाबाथ, जिम, डान्स अनेक अभ्यास गर्न सकिन्छ । साँघुरो वा बन्द वातावरण भन्दा खुल्ला स्थान र चौरमा दौडिन र ज्यान तन्काउँदा बेग्लै मजा हुन्छ । त्यसैले सहरका एकथरी एलिट हरु पनि क्लबभन्दा यस्तै पार्क वा खुल्लास्थानतिर आकर्षित हुन थालेका छन् । पछिल्लो समयमा ज्यान बनाउने जाँगर सबैमा चढेको छ । यो चेतनाले घरका गृहणीदेखि स्कूल पढ्ने केटाकेटी र बुढाबुढीलाई समेत छोएको छ ।
बिहान यहाँ नआए त फे्रस नै भइँदैन, राजेशलाल श्रेष्ठ भन्छन् । निवासी राजेशलाल प्राय: हरेक बिहान त्यहाँ पुग्छन् । पार्क निर्माण भएदेखि त्यहाँ उनी निरन्तर आइरहेका छन् । उनले आफू मात्रै होइन, पार्कभित्र अरुलाई पनि राखेर केहीबेर योगा सिकाउँछन् । यहाँ एकछिन ज्यान तन्काएपछि दिनभर बेग्लै फूर्ति हुन्छ , उनी भन्छन् । इन्जिनियर मन्जिता पाठकलाई बिहान फ्रेस हुँनका लागि जाने ठाउँ युएन पार्क नै हो । मन्जिता भन्छिन्, बिहान केही छिन यहाँ समय दिने हो भने दिनभर फ्रेस हुन्छ । प्रायः म यहाँ आउँछु ।
बुद्धनगरका यज्ञ पोखरेल पनि प्रायः त्यहाँ पुग्छन् । तर पछिल्लो दिनमा भीड बढेर उकुसमुकुस हुने पोखरेल बताउँंछन् । पार्कभित्र मर्निङ वाकका लागि एउटा मात्र ट्रयाक रहेकोले कुनै बेला दौडिनेहरुको खचाखच नै हुन्छ । वैकल्पिक ट्रयाक बनाएमा मर्निङ वाक अझै सहज र आनन्ददायक हुने धेरैको सुभाव छ । ट्रयाकको लेभलिङ सन्तुलित नभएकोले पनि दौडिदा समस्या हुने यहाँ आउनेहरु बताउँछन् ।
बागमति नदीमा बुद्धनगर र युएनपार्क जोड्ने पक्की पुल बनेपछि यस भेगका बासिन्दालाई युएनपार्क जानआउन झन् सजिलो भएको छ । धेरैलाई ज्यानको जाँगर बढाउन युएन पार्कले साथ दिएको छ तर पार्कलाई जोगाउन जागरणको खाँचो छ । जंक फुडका खोल तथा अन्य फोहोरहरु छरपस्ट देख्न सकिन्छ । सौचालयको राम्रो व्यवस्था छैन । खासगरी पार्कको सरसफाई, फोहोर व्यवस्थापन र संरक्षणमा सरोकारवालाको ध्यान पुग्नुपर्छ । नत्र युएन पार्क कसैको अतिक्रमणको सिकार हुनसक्छ वा फोहोर फाल्ने डम्पिङ साइट बन्नसक्छ । त्यसैले यसको सुरक्षा, सफाइ र संरक्षणका लागि सराकारवाला सबैको समन्वयनात्मक प्रयासको खाँचो छ । पार्कभित्रको सरसफाइ वा सुरक्षाको ग्यारेन्टी हुन्छ भने त्यहाँ प्रवेश गर्नेहरुलाई थोरै शुल्क तिर्न गाह्रो हुँदैन । कसैले आनाकानी गर्दैन र गर्नु पनि हुँदैन ।
दिनभर सबैको आफ्नै व्यस्तता, आफ्नै तनाव र आफ्नै पिरलो । तर युएन पार्कको बिहान बेग्लै संसारमा जहाँ सामेल भएपछि ती सबै बिर्सन्छन् मानिसले । पाँचबजेदेखि नै जाग्ने युएन पार्क आठबजेपछि विस्तारै रित्तिन थाल्छ । किनकी कामकाजीहरु आआफ्ना घरतिर लाग्छन् । अपरान्हतिर प्रेमलाप गर्नेहरुको त्यही गजब अखडा जमेको हुन्छ ।
पार्कको दक्षिणतिरको गेट नजिकै जडीबुटीयुक्त तितो चिया खान पाइन्छ । बाह्र रुपैयाको यो चिचा युएन पार्क जाने धेरैले मिस गर्दैनन् । पसिनाले हल्का भिजेको जीउलाई यो चियाले झनै फ्रेस बनाउँछ ।

No comments:
Post a Comment